:सपनीमा ब्यूंझाउन आउने विपनीमा देख भेट नहुने बल्लै भो भेट.....
सपनीमा चुनु र मुनु विपनीमा रैछ नि भेट हुनु.. बल्लै भो भेट हांसी देउ बोली देउ खोली मनपेट : आज आको तपाईंको निम्तीमा टाढाबाट ओराली घुम्तीमा
त्योसो नभन जाउला नै बारम्वार तिमी पिपल म हुन्छु लर्के बरसांझको ११ बज्दै थियो जव हामी दुबईबाट वसमा चढेर झिलीमिली सडक र रंगी चंगी भवनका विचमा यूएईको अति ब्यस्त सडक शेखजायद रोडतिर लाग्यौ । बाहीरी वातावरण अती सुन्दर थियो । विश्वको सवैभन्दा अग्लो टावर बुर्ज खलीफाबाट फ्यांकीएका बत्तीका फोहोराले एक किसिमको आनन्द दिदै थियो ।
शेखजायद रोडको दायां पट्टी खचाखच यात्रुहरुलाई बोकेर बिना चालक मेट्रो रेल आफ्नै गतिमा कुदीरहेको थियो भने बेला बेलामा स्टेशनमा घ्याच्च घ्याच्च रोकिन्थ्यो । वायांतिर विभिन्न सप्तरङ्गी रङ्गमा परिवर्तन गर्दै बुर्ज अलअरब होटलले आफ्नो स्वरुप देखाउदै थियो । बाहिर बत्तिका उज्यालोले झलमल्ल थियो, सडक व्यस्तताले रनफनिरहेको थियो । एक आपसमा भागाभाग जस्तै चिल्ला गाडीहरु कुदिरहेका थिए । विभिन्न आकारका आर्किटेक्च कृतिम टावर र ती टावरबाट निस्किएका प्रकाशले अझै मनमोहक थियो बाहीरी वातावरण । शेखजायद सडक ब्यस्तताले दुई तीन तला माथिबाट बनाईएका ओभरहेड क्रसिड. वि्रजले अझै शुन्दरता थपेको थियो । सांच्चै यो यात्रामा युरोपकै झल्को दिन्थ्यो ।
३५ जनाको सीट भएको मिनी बस केवल ४ जना महिला बांकी सबै पुरुष, दुवईबाट निस्कदा निन्द्राले धपक्क धपक्क भईसकेका थिए धेरै जना साथीहरु । मैले पनि बसेको सीटमा कैयौपटक टाउको ठोक्काएं पनि निन्द्राले । जब महिलाको आवाज गुन्जीयो निन्द्रा सयौ कोष पछाडि भाग्यो, सबै जुरुक्क जुरुक्क उठ्न थाले । चालकलाई माईकको ब्यवस्था गर्न अनुरोध गरे । अझै मलाई थाहा पत्तो थिएन के हुन लागेको हो भनेर । म भने संगै बसेका मित्र भर्खरै महिलाको भेषमा नृत्य गरेका उनीसंगै गफमा ब्यस्त थिएं । बन्दिपुरको कुरा गर्दासाथ उनले मोवाईलबाट आफू पुगेर पिकनीक मनाएको भिडियो देखाए । मलाई त्यही ठाउं पुगेको अनुभूति भयो । केही समयमा माईकको ब्यवस्था भइछाड्यो अनि संगै बसेका लोक गायक चुमन काउसा मगरबाट यो गीत फुत्कियो ....
सपनीमा ब्यूंझाउन आउने विपनीमा देख भेट नहुने, बल्लै भो भेट, ...उनले गीतको बिट मार्न नपाउदै पछाडिबाट महिलाको तिखो आवाज, मुटुमा नै रोपीएला जस्तै गरी उत्तर यसरी आयो. ......
आज आको तपाईको निम्तीमा टाढाबाट ओराली घुम्तीमा ......
वस भित्रको माहोल एकैक्षणमा ४० डिग्री भन्दा माथि भयो तातेर, नाच्ने र थपडी मारेर मादलको ताल निकाल्ने सबै भए । हामीलाई त्यो बाहिर देखिएको कृतिम सहर, त्यो चिल्लो सडक, ती कृतिम भवन अनि ती सप्तरङ्गी किरण उज्याला बत्तिको कुनै मतलव भएन । न त मादल नै थियो न त कुनै गीतको ट्रयाक नै , महिलाले गीतको बोलको अन्तिम बिट मार्न नपाउदै पुरुष तर्फबाट त्यस्तै तिखो वाण जान्थ्यो भने महिलाहरु कतिबेला दोहोरी फर्किएला भनेर सोचिरहन्थे । आ हा त्यो यात्रा एकैक्षणमा नेपालको गाउं घरको दोहोरी सांझमा पुग्यो । गीतकै भाकामा अब भने हामीहरु एक आपसमा माया पिरती गांस्दै थियौ, गाउंघर, रोधी घरको सम्झनालाई ब्यूताउदै थियौ । एक पछि अर्का चोटीला शब्दहरुका प्रहार एक आपसमा भईराखेका थिए । दुबईलाई छोडेर हामी अबुधावीलाई टेकीसकेका थियौ । जव दुवईको बोर्डर सकिन्छ अनि सडकको छेउछाउमा हरीयाली वातावरण देख्न पाईन्छ । नेपालको यात्राको झझल्को त्यतिबेला हुन्छ जव हामी अबुधावीको सडकमा कुद्छौ । म उठी उठी ती तिखा स्वर भएका महिलाहरुको फोटो लिन खोजे तर भित्र अन्धकार भएको हुनाले फोटो खिचीसकेपछि मात्र उनिहरुको अनुहार देखे । कता कता देखेको जस्तो लाग्यो ती महिलालाई । एड्नोकको पेट्ोल पम्पमा केही समयको लागि बस रोकियो । चिया नास्ता अनि मुत्र विसर्जन गर्न । यही मौका छोपेर मैले उनीलाई सोधे तपाईको नाम के । रातो पोषाक लाउने महिलाले खाउंला झै गरेर झम्टिईन् म माथि शब्दले । यो भन्दा पहिला पनि हाम्रो भेट भाको थियो कति छिटो भुल्ने हो तपाईले । पुर्वेली ठेट नेपाली शब्द मिसिएको थियो तर लोक गीतका शब्दहरु र भाकाले रोधीघर कै मगर्नी माईली जस्तै लाग्दग्थ्यो । मैले उनलाई नम्रताका साथ सोधें नाम केरे मधु हो मधु, मेरो नाम पनि मधु नै थियो गाउं घरमा बोलाउने, दोहोरीमा गीतको भाकामा शब्दहरुको जवाफ फर्काए जस्तै मलाई पनि उनको जवाफ फर्काउं फर्काउं लागेको थियो म पनि मधु हुं नि, हा कस्तो केटीको नाम रैछ भनेर जिस्काउलान भनेर भनिन । उनले भनिन आजभन्दा १ वर्ष पहिला हत्ता ओमानमा पिकनीकको बेलामा भेट भाको थियो तर त्यतीबेला मैले यो अनुभुति लिन पाईन त्यसैले तपाईलाई नचिनेको । उनले पनि भनीन् हो नि त हो हामी संगै वसमा यात्रा गरेका थिएनौ । हामीसंग यात्रा गर्दा यत्तीकै रमाईलो हुन्छ ।
केही क्षणको विश्रामपछि हामी फेरि गन्तब्य तिर हुईकियौ । फेरि त्यही चोटीला शब्द, न मादल थियो न त कुनै संगीत नै । तर पनि संगीत विनाको गीत पनि अति सुनौं सुनौं लाग्ने मनै लोभाउने थियो, गीतबाट, माया पिरतीका मात्र कुरा भएनन् । विभिन्न किसिमका घोचपेचहरु भईरहे , बस गुडीरहेको थियो भित्र भने गीतको तालमा अर्की महिला उठेर नाच्न थालीन् । करिव ३५ जना सबै नेपाली थियौं चालक भने पाकिस्तानी थियो ।
घडीको सुईले कसरी १२:३० बजायो पत्तै भएन । वितेका समयमा यो रोडमा कि त चिन्तीत मुद्रामा, कि त मस्त निन्द्रामा यात्रा गरिन्थ्यो आज भने रोधी घरको सम्झनालाई विर्साउने, गाउंघरको चौतारी अनि देउरालीमा घन्कीने दोहोरी प्रत्यक्ष दोहोरीको माझमा । करिव साढे दुई घण्टाको यात्रा अति रोचक र मनोरञ्जन तरिकाले वित्यो ।
अबुधावी सहर भित्र प्रवेश गर्दै थियौं तर पनि दोहोरी गीत सकिएको थिएन । कार्यक्रममा दोहोरी भईहालेता पनि कम्तीमा १० देखि १५ मिनेटसम्म मात्र हुन्थ्यो होला तर साढे दुई घण्टासम्म प्रत्यक्ष आमुने सामुने चलेको दोहोरीले मनै भुलायो ।
सधैं झै गत १८ फेब्रुअरी २०११ का दिन दुवई जाने मौका मिलेको थियो एक्लै । विहानीको मौशम प्रवासी भूमिमा पनि नेपाल कै वातवरणलाई भुलाउने हुन्थ्यो । करिव दुई घण्टाको लामो यात्रा पछि दुवई पुगे । पहिलो कार्यक्रम जनप्रगतिशील मञ्चको जनयूद्ध दिवस मनाईवरी सांझ ६ बजे मगरहरुको सांस्कृतिक कार्यक्रममा पुगे । सेराटन फोरप्वाईन्ट होटल जहां पहिला पनि गुरुङ्घहरुको कार्यक्रम भएको थियो । त्यतिबेला पनि दर्शकहरुको टनाटन र खचाखच भरिएको थियो । जव म भित्र छिरें यसपाली पनि त्यस्तै रहेछ । दर्शकहरु बस्ने सिट नभएर वरीपरी उभिएर कार्यक्रम हेरिरहेका थिए । अलि ढिला भएको हुंदा पहिलो चरणको कार्यक्रम छुटेको थियो सायद भाषण र आसनगहण नै भएको थियो होला भन्ने अनुमान लगाएं । सांस्कृतिक कार्यक्रम पनि हुदै थियो । मगरहरुको भेषभुषामा सजिएका मगर्नीहरु र मगरहरुको ओहोर दोहोरले गाउंघरको रोधीघरलाई भुलाएको थियो । बेला बेलामा रोधी, चुड्का, कौरा, पुराना लोक भाका, सारङ्गी, मादल खैंचडीका आवाजले मनै चङगा भएको थियो । दुबईर्को ब्यस्त होटलमा जहां पश्चीमी शैलीका पप र डान्सले घन्कीने यो होटलमा नेपाली ठेट लोकसंगीतका वाजाहरु घन्कीदाको समय बेग्लै लाग्ने । कार्यक्रममा नृत्य, गायन मात्र भएनन् प्रत्यक्षरुपमा कौडा चुड्का आदि पनि प्रस्तुत भए भने नेपालको अहिलेको अवस्थालाई दर्शाउने हांस्य प्रहसन पनि देखाईएको थियो । कार्यक्रम कति बेला सकियो थाहा भएन ।
भोलिपल्ट अफीस जानु पर्ने भएको हुनाले भित्र भित्र टेन्सन बढीराखेको थियो कतिवेला अबुधावी पुग्ने भनेर । पुराना साथी अर्थात यूएईका स्थानीय कलाकार शिशीर थापा मगरलाई भेटें र सोधे तपाई अबुधावी जाने हो नि भनेर । रातको १० बजे हामी उहाहरुसंगै अबुधावी हुंईकियौ । जीवनमा पहिलो पटक म दुवईदेखि अबुधावी सम्मको यात्रामा यती रमाईलो महसुस गरें । मगरहरुको कार्यक्रममा प्रत्यक्ष दोहोरी हुने भन्ने हल्ला चलेको थियो । कार्यक्रम अवधीभर कतिबेला दोहोरी होला भनेर कुरीरहंदा कार्यक्रम सचालकज्यूले समाप्त भएको घोषणा गरे तर त्यो धोको पूरा भएन । जव गाडीमा चढें अनि मात्र मेरो धोको पूरा भयो । पछाडि सीटमा तीन जना महिलाहरु थिए मलाई पत्यार लागेको थिएन । दुवईको त्यो ब्यस्त सडक हाम्रो लागि गाउं घरको चौतारी, देउराली अनि भन्ज्याङ जस्तै लागेको थियो ।
यसपालीको यो यात्रा प्रवासको अर्को स्मरणीय भएर सकियो ।
Comments
Post a Comment